खै शहर भनूँ वा गाउँ ? व्यवस्थित सडकहरू, मुख्य सडकमा बात्ती, निर्माणाधीन ठूल्ठलाभवनहरू अनि कुनै बेला गौरवमय इतिहास बोकेको । सहायक सडकहरू कलात्मक रूपमा ढुङ्गा छापिएका , युरोपको कुनै पुरानो शहरको झझल्को दिने। युद्ध वास्तवमै पीडादायक हुन्छ । अब शान्ति हुन समय लाग्छ , र सर्वसाधारणको दुःख काे सीमा छैन । प्राकृतिक रूपमा ज्यादै सुन्दर र मौसम एकदम अनुकूल, र कफीको त कुरै नगरौं ।
सरकारले इन्टरनेट काटे पछिको अवस्था अर्कै छ । फोनमा कुरा हुन सक्छ तर इन्टरनेट बिना यताको वास्तविकता दुनियाँलाई थाहा छैन, कुनै पनि पत्रकारलाई प्रवेश दिइरहेको छैन । सत्यलाई छोप्न सहज हुन्छ जस्तो छ । हालको युग हल्लाकाे युग हो, जसले सामाजिक सञ्जालमा कब्जा गर्यो, बाँकी संसारको लागि त्यहि तथ्य हो ।
म होटलमा बसि भोलि वा जहिले इन्टरनेटमा पहुँच हुन्छ, तब यो ब्लग प्रकाशित गर्छु भनि बसेको छु ।
र म झ्यालबाट नौ लाख तारा हेर्दै छु । आकाश सफा छ । शायद केही माइल परको विस्थापितहरुको क्याम्पमा बसेकाहरु पनि ती ताराहरु हेर्दै होलान् । भोलिकाे अनिश्चितलाई मनभरी बोक्दै डर र त्रसलाई बिर्सने प्रयास गर्दै होलान् । परको सैनिकले पनि तारा नियाल्दै आफ्नो डिउटी सकी आराम गर्ने सोच्दै होला । शायद उनीहरूले गर्व पनि गर्दै होलान् , आफ्नो देशको लागि गरेको बलिदानको लागि , शायद अझै ठूलो योगदानको लागि आफ्नो सेनापतिको आदेशको प्रतिक्षामा होलान् ।
म भोली अर्को शहरमा जाने पर्खाइमा छु । अनि केही दिनमा पुन यतै आउँछु केही दिनको लागि, अनि उही पीडाका कथा, आँसुका व्यथा र हजारौंको भोलीकाे सुन्दर र सुरक्षित जीवनको आशा ।
Comments
Post a Comment