दैनिकी छोटो हुदै छ मेरो । के मेरा कथाहरू सकिएका हुन त ? या त मेरो अल्छिपनाले मेरा जाँगरमा छायाँ परेको हुन ।
दिनहरू शान्त र शुन्य छन् । अनिश्चता र केही त्रास छ जनमानसमा , रिस र आवेशकाे सीमा नै छैन । तर पनि अचम्मको आशा छ यो समुदायमा ।
खुला आकाश, चम्किलो सूर्य, घमाइलो दिन कहिलेकाहि डरको सूचक हो अहिले यहां ।
हामी पनि परिस्थितिका कैदी हौं । अभाव छ , कतै कतै भुखमारी छ । हामी आफ्नै सानाे संसारमा माग्न छौ । सक्दो सानाे सानाे पाइला चाल्दै छौ । तर हाम्रा प्रयास एकदम अपुग छ ।
बादलले घाम छेक्दा, अलि राहत हुन्छ । घामले पोल्दैन , आँखा तिर्मिराउँदैन ।
बिहानीको र साँझको चिसो हावा , काठमाडौंको झझल्को दिन्छ । अनि, परको हरियो बारीले बाल्यकालको सम्झना बल्झाउछ ।
दशैं पनि बित्यो , तिहारमा घर जाने निश्चित छैन , वा भनु अनिश्चित पनि छैन । कस्तो अवस्था - निश्चितता र अनिश्चितमा पनि निश्चितता छैन ।
आज बिहिबार, वा भनु आधी शुक्रबार - भोलि पूर्ण शुक्रबार हुने छ , तर सोमबार भन्दा फरक अनुभूति हुने सम्भावना काम छ ।
'दिन' उहि तर नामाकरणको कारण 'दिन'बाट अपेक्षा कति फरक !
आउँदा दिनमा अलि लामो र भरपुर दैनिकीको लागि जोश संकलन गर्दै !
Comments
Post a Comment